
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको छ ।
भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा सुरुङ्गामा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पूर्जा वितरण गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको बताउनु हुँदै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उहाँले भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएको बताउनुभयो ।
देश विकासको गतिमा अग्रसर भएकाले निराश नहुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्दै प्रधानमन्त्री ओलीले मुलुकले गणतान्त्रिक शासन व्यवस्था अङ्गिकार गरेपछि शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा धेरै परिवर्तन भएको बताउनु भयो ।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग भएको सहमति बमोजिम सो दलका सभापति एवं लोकतान्त्रिक आन्दोलनका आफ्ना सहयात्री शेरबहादुर देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गरिनेछ भन्नुभयो ।
“आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छ” उहाँको भनाई थियो ।
त्यस अवसरमा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्मका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गाधनी पूर्जा वितरण गरिने बताउनुभयो ।