
झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई विघा खेतका सुख्खा गरामा कमिला कुदिरहेका छन् ।
“गरा भरिनेगरी आकाशबाट पानी पर्छ र धान रोपौंला भनेर पर्खेको धेरै भइसक्यो,” उहाँ भन्नुहुन्छ, “ब्याडमा बीउ छिप्पिसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।”
अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ । विगत पाँच वर्षदेखि एक विगाहा खेत वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आउनुभएको उहाँले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताउनुभयो ।
समयमा रोपाई गर्न नसक्दा जग्गा धनीलाई वार्षिक रुपमा ठेक्का वापत तिर्नुपर्ने ५० हजार रुपैयाँ कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उहाँ बताउनुहुन्छ ।
झापाको अधिकांश खेतमा सिञ्चाईका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धान खेती गर्ने किसानहरु आकाशे पानीमा निर्भर छन् ।
धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशत मात्र रोपाई भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा नभएका कारण किसानले पर्याप्त रोपाई गर्न पाएका छैनन् । जति रोपाई भएको छ, ती सबै कुलो र भूमिगत सिंचाईबाट सम्भव भएको हो ।”
कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि खेतमा रोपाई हुनेगरी वर्षा भएको छैन ।
झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९ दशमलव १८ हेक्टरमा धान खेती हुने गरेको बिष्टले बताउनुभयो । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नु पर्ने हुन्छ ।
जिल्लामा नियमित सिञ्चाईंका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिंचाई आयोजना सञ्चालनमा छन् । कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशी लगायतका पालिकाको केही जग्गामा भूमिगत सिञ्चाइको व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धान खेतीका लागि आकाशे पानीको निर्भरता हटेको छैन ।