
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा १५ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मिलेमतोमा गुणस्तरहीन प्रोसेसर खरिद गरेर भुक्तानी दिने–लिने कार्यमा संलग्नविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र ठेकेदारसहित ६ जना मुद्दाका प्रतिवादी रहेका छन् ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलेमतो गरेर खरिद गरेको अख्तियारको दाबी छ ।
केन्द्रलाई हानि पुर्याउने गरी मापदण्ड विपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्रोसेसरबापत १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएरदिएको देखिएको अख्तियारको आरोप छ । बढी भुक्तानी दिइएको यही रकमलाई अख्तियारले बिगो कायम गरेको छ ।