
धनुषा । पानी नपर्दा धान रोपाइमा समस्या भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको भन्दै गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
मन्त्रिपरिषदको बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।
खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमवाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।