
काठमाडौं । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा रातमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आउँदो साउन महिनाभर बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ ।
अर्को निर्णय नभएसम्म बेँसीशहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी गाडी सञ्चालनमा रोक लगाउने निर्णय भएअनुसार आजदेखि नै कार्यान्वयन थालिएको प्रशासनले जनाएको छ ।
चामे नजिकैको कोतोबाट दिउँसो साढे ४ बजेपछि बेँसीशहरका लागि गाडी छुट्न नपाइने व्यवस्था छ । ती गाडी नासो गाउँपालिका–१ तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कुल ६५ किलोमिटर रहेको यो सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर मनाङमा पर्छ ।