
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा आकश्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी नागरिकको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बेलुका भएको बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढी भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् चीनसँग समन्वय गर्ने निर्णय गरेको छ ।
सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ भने चीनसँगका वैकल्पिक नाका सञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।
यस्तै क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ ।
व्यवसायीका कन्टेनर, गाडी र अन्य सामग्रीको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।
बैठकले ज्यान गुमाउनेका परिवार र बेपत्ता परिवारलाई प्रचलित कानून अनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ ।
परिषद्ले घटनाको कारण पहिचानका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
यसैगरी यसवर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान आएकाले पूर्व तयारी तथा प्रतिकार्यका लागि सजग एवम् तयार रहन बैठकले सम्बन्धित निकायलाई निर्देश गरेको छ ।
प्रधानमन्त्री ओलीसहितको टोली क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनबाट फर्किएलगत्तै राखिएको परिषद्को बैठकमा प्रधानमन्त्रीले पूर्वानुमान र कल्पनाभन्दा बाहिरको अप्रत्याशित विपद् उत्पन्न भई क्षति भएको देखिएको बताउनुभयो ।
उहाँले बगाएको मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो शुरू गर्न नेपालका लागि चिनियाँ राजदूतलाई आफूले आजै आग्रह गरेको जानकारी गराउनुभयो । साथै मुस्ताङको कोरला नाकालगायत वैकल्पिक मार्गलाई व्यवस्थित सञ्चालनको तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।