२०८२ असार २४, मङ्गलवार , ०२:०५:५९ बजे

Sajhamanch
'

क्यान झापाको समन्वयमा ६० घण्टे सीप अभिवृद्धि तालिम सकियो

मङ्गलवार, असार २४, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ झापाको समन्वयमा बिर्तामोडमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम आज समापन गरिएको छ ।

असार ८ गतेदेखि सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै आज औपचारिकरुपमा तालिम समापन गरिएको हो ।

आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो ।

बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाले पनि विभिन्न विधामा वर्षेनी ३५ लाख रुपैयाँभन्दा बढी खर्चेर सयौंको संख्यामा सहभागीहरुलाई सीप अभिवृद्धि तालिम प्रदान गर्दै आएको बताउनु भयो ।

‘हामी आईटी सेक्टरमा प्रवेश गरेका रहेनछौं, क्यान संस्थाको कार्यालय बिर्तामोडमा नै रहेछ, आगामी वर्ष समयमा नै क्यानले आवेदन गरोस्, नगरपालिका सहकार्य गर्न तयार छ’ नगर उपप्रमुख संग्रौलाको भनाई थियो ।

उहाँले पशुपालक किसान १३७ जना, सहकारी संस्थाहरुबाट ४० जना, वारिष्टा ३३ जना, ब्युटीसियन ४० जना, लोकसेवा तयारी कक्षा ५० जना, सिलाई कटाई २५ जना लगायत सयौंको संख्यामा सहभागीहरुलाई नगरपाकिाको बजेटमा सीप वृद्धि प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

प्रविधिसँग आधारित सफ्टवेयरको माइक्रो लेभलको तालिम लिने दिने र तालिम लिनेहरुले पनि उद्यम, व्यवसाय वा रोजगारीलाई निरन्तरता दिने हो भने लगानी खेर नजाने बताउनु हुँदै उहाँले तर ‘सिंगडा तालिम’मा नगरपालिकाले लगानी गर्नै नसक्ने उहाँको प्रष्टोक्ति थियो ।

क्यान महासंघ झापाका अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा सञ्चालित तालिम समापन कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख डा. रुपक खनालले शिक्षा भनेको नलेज, स्किल, विहाविअर र विस्डमको संगम भएको बताउनु भयो ।

सो कार्यक्रममा हेल्भेटास नेपाल इन्स्योर परियोजनाका कोशी प्रदेश प्रबन्धक विकास पन्थीले यो १५ दिनको तालिम कस्तो रह्यो भन्ने कुरा सहभागीहरुको प्रतिक्रिया र तालिम संयोजकको प्रस्तुतिबाट थाहा पाएकोले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन हौसला मिलेको बताउनु भयो ।

दिगो तथा सम्मानित रोजगारका लागि हेल्भेटासको सहयोग निरन्तर रहिरहने स्मरण गराउनु हुँदै प्रबन्धक पन्थीले इन्स्योर परियोजनाको कार्यकाल सकिए पनि लो कस्ट एक्सटेन्सनमा रहेर थप एक वर्ष काम गरिने बताउनु भयो ।

स्थानीय सरकारसँग सहकार्य गर्न हेल्भेटास सदैव तत्पर रहेको सुनाउँदै प्रदेश प्रबन्धक पन्थीले शिक्षा, स्वास्थ्य, सीप विकासजस्ता काममा आफूहरु अग्रसर हुने पनि बताउनु भयो ।

क्यान महासंघ झापाका सचिव खगेन्द्र मिश्रले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष लोकप्रिय खनालले शाब्दिक स्वागत गर्नुभएको थियो ।

सो कार्यक्रममा युनिश बाँस्कोटा, चन्द्र लुइँटेल, लीला पोखरेल र चन्द्रकला घिमिरेहरुले १५ दिनको तालिम अनुभवसहित सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खबर