
शिवसताक्षी । शिवसताक्षी नगरपालिका १० नम्बर वडाले कृषकहरुलाई कृषिजन्य सामग्री वितरण गरेको छ ।
वडा कार्यालयमा शुक्रबार विशेष कार्यक्रम गर्दै कृषकहरुलाई चापकटर, सिंचाइको लागि मोटर वितरण गरेको हो । नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्की लगायतले ती कृषि सामग्रीहरु कृषकलाई हस्तान्तरण गर्नुभएको थियो ।
वडाले ३ लाख ५० हजार बराबरको लागतमा ३४ जनालाई कुटी काट्ने चापकटर वितरण गरेको छ । कृषकहरुलाई कृषि उत्पादन बृद्धिका लागि ३ इन्चको सिंचाईको मोटरसमेत वितरण गरिएको छ ।
वडाको २ लाख ५० हजार रुपैयाँको सिलिङ बजेटबाट १२ जना कृषकलाई मोटर वितरण गरिएको वडध्यक्ष हर्क सिगुले बताउनु भयो ।
त्यस्तै वडाका महिलाहरुलाई स्वाभलम्बी बनाउने र आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले २ लाख रुपैयाँ बराबरको २२ जनालाई सिलाई मेसिन वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगर तथा वडाले किसानमुखी कार्यक्रमहरु ल्याएर नगर बासिन्दालाई कृषि उत्पादन मुखी बनाउनेमा जोड दिनुभयो । उहाँले संघीय सरकारले वितरणमुखी काम गरेर बजेट खर्च नगर्ने भन्ने निर्देशन भएपनि स्थानीय सरकारले यहाँका नागरिकहरुको आवश्यतालाई हेरेर काम गर्दै आएको बताउनु भयो ।
त्यस्तै वडध्यक्ष हर्क सिगुले वडाले लागू गरेको एक घर एक गाई अभियानमा पनि यी कृषि सामग्री वितरणसँग जोडिएको बताउनु भयो । उहाँले वितरण गरिएको चापकटर र सिचाईको मोटर प्राप्त गर्ने वडाबासीको घरमा एउटा गाई अनिवार्य हुनुपर्ने बताउनु भयो ।
कृषि सामाग्रीहरु कृषकको २५ प्रतिशत लागत सहभागितामा वितरण गरिएको हो ।
वडा सदस्य दिपक पोख्रेलले सञ्चालन गर्नु भएको कार्यक्रम वडाध्यक्ष हर्क सिगुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।