२०८२ असार १९, बिहिवार , ०६:१०:१३ बजे

Sajhamanch
'

पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको पक्कि पुल सञ्चालनमा

बिहिवार, असार १९, २०८२

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दुम्कीबासमा रहेको विनयी खोलामा नव निर्मित पुलबाट गाडी चल्न शुरु भएको छ ।

विनयी खोलाको पक्की पुल कालोपत्र गरेर गाडी सञ्चालनका लागि तयार भएपछि आजदेखि सञ्चालनमा ल्याएको नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो ।

यो पुलबाट सामानसहित ४० टनसम्म भार भएका गाडी मात्रै चल्न पाउनेछन् । पुल सञ्चालनमा आएसँगै विनयी खोलामा डाइभर्सन बनाएर गाडी चलाउनुपर्ने बाध्यता हटेको छ । यसअघिको पुरानो पुल गएको पुस २६ गते भाँचिएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए ।

साना गाडीलाई वैकल्पिक सडकबाट पठाए पनि मालबाहक गाडी डाइभर्सनबाटै पार गर्नुपर्ने बाध्यता थियो । तर पटक–पटक डाइभर्सन बगाउँदा समस्या भइरहेको थियो । यही असार ६ गते विनयी खोलामा यात्रुबाहक बस फस्दा ३८ जना यात्रुको उद्धार गर्नुपरेको थियो ।

विनयी खोलामा पुल बनेपछि केही सहज भए पनि दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेकोले त्यो पूर्ण नहुँदासम्म यात्रुले समस्या झेल्नुपर्ने अवस्था छ । बर्दघाटदेखि दुम्कीबासबीचको १४ किलोमिटर सडकखण्डमध्ये बर्दघाट तर्फ तीन किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

सम्बन्धित खबर