२०८२ असार १९, बिहिवार , ०२:३१:११ बजे

Sajhamanch
'

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

बिहिवार, असार १९, २०८२

मुस्ताङ । मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना भएको छ । नेपाल सरकार वातावरण विभागले जोमसोममा रहेको जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मुस्ताङमा भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिनुभयो ।

वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर मापन केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।

विभागले समुद्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच ठाउँमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाउनुभयो ।

यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना भएको छ । यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ । मुस्ताङमा प्रविधि जडान गर्न एक करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ, उहाँले भन्नुभयो ।

विभागले पफ प्यानलगृह निर्माणसहित दुई हजार किलोवाटको सौर्यऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरेको जनाएको छ । यहाँ जडान भएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ ।

मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा यहाँको वायु गुणस्तर अङ्क तीनमात्रै देखिएको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो । ‘विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औसत ५० अङ्कसम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ । हामीले ४० अङ्कसम्मलाई वायुको गुणस्तर राम्रो हो भन्ने ठानेका छौँ’, उहाँले भन्नुभयो, ‘यहाँ तीन अङ्कमात्रै दखिनु वायुको गुणस्तर निकै राम्रो हो । यहाँको वायुको अपेडट हेर्दा यो वायु प्रदूषण शून्यजस्तै हो ।’

सम्बन्धित खबर