
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ।
बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताउनुभयो । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था गरिएको थियो । तर, ‘बाहेक’ शब्दका कारण समस्या सिर्जना भएको छ ।
सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राख्नुभयो । उनले सरकारको आलोचना गर्ने नेताहरुले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गर्नुभयो ।
त्यस्तै उहाँले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरु राजनीतिमा आएको बताउनुभयो ।
सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरुलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।