
काठमाडौं । आज काठमाडौं उपत्यकासहित २५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दार्चुला, डोटी, डडेलधुरा, बैतडी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, रसुवा, कास्की, लमजुङ्ग, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र काभ्रेपलाञ्चोकमा बाढीको मध्यम जोखिम छ ।
यसैगरी ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोट र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव बढ्न सक्ने र बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा यतिबेला मौसम सामान्यतया सफा छ । धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । दिउँसोपख धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा तथा मधेस प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।