२०८२ असार १६, सोमवार , ०३:२७:३३ बजे

Sajhamanch
'

कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा, ठाउँठाउँमा डुबान

सोमवार, असार १६, २०८२

काठमाडौं । कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा प्राप्त जानकारीअनुसार कञ्चनपुरको बेलौरीमा १२ घण्टामै २७० मिलिमिटर वर्षा भएको छ । यस्तै कञ्चनपुरको कृष्णनगरमा १२ घण्टामा १९२ मिलमिटर र कैलालीको धनगढी विमानस्थलमा १२ घण्टामा १८१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।

धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका धेरैजसो घरमा पानी पसेर क्षति पुगेको छ । वडा नम्बर ८ को शिक्षानगरमा पनि डुबान भएको छ ।

यस्तै कञ्चनपुरका पुनर्बास, कृष्णपुरलगायतका ठाउँमा केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

अत्यधिक वर्षा भएपछि मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर सावधानी अपनाउन भनेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले स्थानीय बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबर