
दमक । झापाको दमकस्थित कदम थिएटरले नाटक ‘आयोजना नम्बर १६०’को प्रदर्शन गरिरहेको छ । असार ५ गतेदेखि कदम थिएटरको पाइवाइला हिममा नाटक मञ्चन गरिरहेको हो ।
नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिनुभएको छ । नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै छ ।
भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक ‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चन गरिएको उहाँले बताउनु भयो ।
नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाको भरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालको भनाई छ ।
उहाँका अनुसार कर्मचारीतन्त्रले लोभमा फसेर कसरी सरकारी ढुकुटीमा राज गरिरहेका छन् भन्ने प्रस्तुत गरिएको छ । नाटक पूर्णतः कमेडी रहेको उहाँले बताउनु भयो ।
नाटक ‘आयोजना नम्बर १६०’ मा एकजना सत्ता सञ्चालक र स्थानीय सरकार मानिएको कर्मचारी तन्त्रलाई गहिरो प्रश्न गरिएको छ ।
कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजना नम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरिरहनु भएको छ ।
सो नाटकमा यिनै १० कलाकारको निर्देशन छ भने लाइटमा आयुष भण्डारीले काम गरिरहनु भएको छ ।