
पोखरा। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताउनु भएको छ।
महासचिव पोखरेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको पनि दावी गर्नुभएको छ ।
जनताको बहुदलीय जनवादले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन दिएको बताउँदै महासचिव पोखरेलले यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् झन् प्रबल र महत्वपूर्ण हुँदै गएको प्रष्ट पार्नुभएको छ ।
जबजका स्थापित मान्यताका आधारमा मात्र देश निर्माणको जग बलियो हुने उहाँको धारणा थियो।
नेकपा एमाले पोखरा महानगर कमिटीले जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीको दिन आज आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त धारणा व्यक्त गर्नुभएको हो।
जनताको बहुदलीय जनवादले आत्मसात गरेका मान्यताहरू नेपाली कम्युनिस्ट आन्दोलनका कोशेढुंगा भएको र सर्वस्वीकृत मान्यता बनिसकेको उहाँको भनाई थियो ।
नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचारका रूपमा जबज स्थापित भएको र विचार निर्माणमा यसले महत्वपूर्ण जग निर्माण गरेको उहाँले बताउनु भयो ।
पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त विचार गोष्ठीमा पार्टीको मुखपत्र ‘अभियान’ को विमोचन पनि गरिएको थियो ।