२०८२ असार १३, शुक्रवार , ०२:२४:२३ बजे

Sajhamanch
'

मेचीनगरको थोप्लेविरानमा प्राङ्गारिक मल उत्पादन र मोरिङ्गा खेतीका विषयमा विषद् चर्चा

शुक्रवार, असार १३, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बिना परीक्षण, बिना सुरक्षा बजारबाट विषादीहरु घरमा भित्राइरहेको बताउनु भएको छ ।

मेचीनगर–९ स्थित उज्यालो भविष्य जैविक कृषक समूहले ‘वातावरणको रक्षा नै जीवनको सुरक्षा’ भन्ने नाराका साथ वन्यजन्तु उद्यम विकास कार्यक्रम अन्तरगत प्राङ्गारिक मल उत्पादन र सजिउन (मोरिङ्गा) खेतीको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले यस्तो बताउनु भएको हो ।

परनिर्भर नभएर आत्मनिर्भर हुनका लागि वैकल्पिक मलका रुपमा घरैमा कम्पोष्ट मल उत्पादन गरेर प्रयोग गर्न सकिने उहाँको जोड थियो ।

नगरप्रमुख बुढाथोकीले कृषकहरुलाई प्राङ्गारिक मल उत्पादन र सजिउन खेतीका लागि आवश्यक पर्ने ड्रायर मेसिन, प्रोसेसिङ लगायतमा नगरपालिकाले पूलको काम गर्ने आश्वासन पनि दिनु भएको छ ।

डिभिजन वन कार्यालय झापाको ५ लाख र संस्थाको ६६ हजार लागत सहभागितामा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले झापाका वनलाई वनमारा झारले विगारेको बताउँदै उक्त वनमारा झारलाई कृषकहरुले संकलन गरेर प्राङ्गारिक मलको रुपमा उत्पादनमा जोडदिनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

कृषकहरुले वनभित्र रहेका काठका झारपात, वनमारा झार र पतिंंगरहरु संकलन गरेर घाँस र गोवर मिसाएर खाल्डामा राखेर प्राङ्गारिक मल उत्पादन गरिरहेको उज्यालो भविष्य जैविक कृषक समूहका अध्यक्ष ईन्द्र पाठकले जानकारी दिनुभयो ।

खाल्डोमा पाँच लियरमा राखेपछि तीन महिनामा मल तयार हुन्छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि कृषकहरु प्राङ्गारिक मल उत्पादनतिर लागेका हुन् ।

कृषि बालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रँदै गएको कारण प्राङ्गारिक मल उत्पादनमा लागिएको पाठकको भनाई छ ।

प्राङ्गारिक खेतीका लागि नगरपालिकाले १७ लाख र संघीय सरकारबाट करिव २० लाख अनुदान आएको छ ।

यसैगरी थोप्लेविरान सामुदायिक वनको महिला कृषि सहकारी संस्थाले तीन महिनाअघि रुपन्देहीबाट बहुउपयोगीका रुपमा रहेको सजिउनको वेर्ना रोपेर विरुवा उत्पादन गरेका थिए ।

सोही कार्यक्रमकाबीच एक हजार ५०० विरुवा संस्थाका सदस्य कृषकहरुलाई वितरण गरिएको छ । थप तीन हजार वेर्ना विरुवाका लागि रोपेको बताइएको छ ।

संस्थाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मोरिङ्गाको खेती सुरु गरिएको संस्थाका कार्यक्रम संयोजक जानुका ओलीले बताउनु भयो । वर्षमा चार पटक उत्पादन हुने मोरिङ्गाको हाँगा र पातलाई भविष्यमा डस्ट बनाएर बिक्री गर्ने योजना रहेको ओलीको भनाई छ ।

नगरप्रमुख बुढाथोकीको परिकल्पना अनुसार वडा नम्बर ९ मा मोरिङ्गाको खेती सुरु गरिएको हो । त्यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

बिहीबारको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख बुढाथोकी, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठ, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि प्राविधिक टेकेन्द्र प्रधान लगायतले प्राङ्गारिक मल र मोरिङ्गा खेतीका विषयमा चर्चा गर्नुभएको थियो ।

थोप्लेविरान महिला कृषि सहकारी संस्थाका अध्यक्ष डम्बरकुमारी प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन संयोजक जानुका ओलीले गर्नुभएको थियो ।