
बिर्तामोड । यहाँस्थित “द ब्युटी वल्र्ड”ले आफ्ना प्रशिक्षार्थी तथा कर्मचारीहरूलाई आँखा स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले बुधबार आँखा परीक्षण तथा चेतनामूलक तालिम सम्पन्न गरेको छ ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहकार्यमा भएको स्वास्थ्य शिविरमा करिब ३०० जना विद्यार्थी तथा कर्मचारीहरूले आँखा परीक्षण सेवा लिएका थिए ।
कार्यक्रममा आँखा विशेषज्ञहरूको टोलीले आँखाको विस्तृत परीक्षण गरेका थिए । साथै सहभागीहरूलाई आँखाका सामान्य रोग, सुरक्षाका उपायहरू, समयमै जाँच गराउनुको महत्व लगायत विषयमा जानकारी प्रदान गरिएको थियो ।
आँखा रोगको पहिचानसँगै कतिपय सेवाग्राहीलाई थप उपचारका लागि अस्पताल आउन सुझावसमेत दिइएको आयोजकले जनाएको छ ।
आजको व्यस्त जीवनशैली र बढ्दो डिजिटल प्रयोगसँगै आँखाका समस्या पनि आम मानिसमा बढ्दो क्रममा रहेको र विशेषगरी ब्युटीसियन क्षेत्रमा कार्यरत व्यक्तिहरूले सौन्दर्य सामग्री, प्रकाश र लामो समय काम गर्दा आँखामा असर पर्ने सम्भावना पनि उच्च हुने तथ्यलाई मध्यनजर गरेर शिविर आयोजना गरिएको आयोजकको भनाई छ ।