
झापा । धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ ।
झापामा असार १ गतेदेखि नै धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्र झापाका अनुसार असार ७ गतेसम्म झापामा करिब ३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
आकाशे पानीमा भर पर्ने कृषकका लागि मनसुनले धोका दिँदा झापामा रोपाइँ गर्न सकिरहेका छैनन् । सिँचाइको व्यवस्था भएका केही स्थानमा बाहेक झापामा रोपाइँ भइरहेको छैन ।
झापामा ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ भने बाँकीमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ ।
पर्याप्त रुपमा वर्षा नभएका कारण बीउ तयार भए पनि कृषकहरुले रोपाइँ गर्न नसकिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए ।
उनले अहिले कृषकहरुले अगुवा धान रोपिरहेको जानकारी दिए । झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ ।
त्यसमध्ये ७५ हजार ५५९ दशमलव १८ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी भण्डारीले बताए । झापामा कचनकवल, झापा, गौरीगञ्ज, गौरादह, शिवसताक्षीमा धेरै धानखेती हुने गरेको छ ।