
बुद्धशान्ति । हरेक वर्ष असार १ गतेदेखि असोज मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम बनाएर कार्यान्वयन गरेको १० वर्ष बितिसक्यो । तर आज पनि अवैध रुपमा नदीजन्य सामग्री ओपारपसार रोकिएको छैन । मानव चेतनाको कमी वा कानुनी कारबाही नभएर भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भएको छ ।
शनिबार बुद्धशान्ति–४ भएर बग्ने टिमाइ खोलामा नदीजन्य सामग्री उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा मे १ त ७५४३, मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ६४४६ र मे १ त २४१६ नम्बरका ५ वटा ट्र्याक्टरलाई गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
असारको पहिलो साता बित्न लाग्दा पनि टिमाइ खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री ओपारपसार गरिरहेका ती ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी उपरिक्षक खगेन्द्रबहादुर खड्काले उक्त ट्र्याक्टरहरु आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाउँपालिका पठाइएको जनाएका छन् । तर प्रश्न उठ्छ, झिनो कारबाही गरेर छाडिए पछि फेरि तिनले उही गल्ती निरन्तर त गरिरहने हैनन् ?
‘अहिले नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । तर, ती ट्र्याक्टरले खोलाबाटै नदीजन्य सामग्री निकालिरहेको पाइयो । त्यसैले नियन्त्रणमा लिइएको हो,’ प्रहरी प्रवक्ता खड्काले भने ।
असार १ गतेबाट कुनै पनि नदी खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न पाइँदैन । सोहीअनुरुप पालिकाले पनि यसअघि नै सूचना जारी गरेर नदीजन्य सामग्रीको उत्खननमा रोक लगाइसकेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं बताउँछन् ।
‘टिमाइ खोला किनार क्षेत्रका स्थानीयबाट अवैध रुपले नदीजन्य सामग्री उत्खनन भइरहेको छ भनेर सूचना आयो । यसबारे प्रहरीलाई खबर गरियो । प्रहरी पुग्दा पाँच वटा ट्र्याक्टर खोलामै सामग्री निकालिरहेका थिए,’ अध्यक्ष प्रसाईंले भने, ‘उक्त ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर पालिकामा ल्याएको हो ।’
आइतबार यस सम्बन्धमा पालिकाले थप अनुसन्धान गर्ने र पालिकाको नीतिअनुरुप अवैध सामानलाई जफत गर्दै राजस्व तिराएर छाडिने उनले बताए ।