
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजनामा महिलाहरुका लागि कानुनी परामर्श सम्बन्धी तीन दिवसीय तालिम आइतबार सम्पन्न भएको छ । शिवसताक्षी ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
सहभागीहरुलाई वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
तालिममा नगरपालिकाका सबै वडाबाट २ २ जना महिला तथा तीन जना नगरपालिका कर्मचारीसहित कूल २५ जनाको सहभागिता रहेको थियो । सहभागीमध्ये अधिकांश घरेलु हिंसा, महिला हिंसा लगायत विभिन्न प्रकारका सामाजिक अन्यायमा परेका महिलाहरु रहेको बताइएको छ ।
तालिममा हिंसामा परेका महिलालाई कानुनी सहारा कसरी लिने, उजुरी कहाँ र कसरी दिने, घरेलु हिंसा, मानसिक यातना, जमिनको सीमाना विवाद लगायतका विषयमा न्यायिक प्रक्रियाका उपायबारे जानकारी दिइएको थियो ।
तालिमले महिलाहरूलाई अन्याय विरुद्ध आवाज उठाउने क्षमता र आत्मविश्वास प्रदान गरेको सहभागीहरूको भनाई छ ।
सहभागी बाग मर्डीले तालिमबाट समुदायमा अझै पनि घरेलु हिंसा भइरहेको यथार्थ उजागर गर्दै आगामी दिनमा समुदायमै पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । यस्तै, प्रतिमा नेपाल, टिकामाया पाठक र रक्षा नेपालले पनि तालिमको अनुभव साझा गरेका थिए ।
जेठ ३० गतेदेखि आषाढ १ गतेसम्म सञ्चालन तालिमको सहजीकरण अधिवक्ता लेखनाथ निरौला, पत्रकार गोपाल काफ्ले, शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, न्यायिक समितिका कर्मचारी नर्वदा दाहालले गरेका थिए ।
शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा तालिम सञ्चालन भएको थियो ।