
बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध जनाएका छन् । आज बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिवद्धता जनाएका हुन् ।
चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र छात्रवृति वितरणका लागि राजदुत सोङ्ग केही दिन अघि झापा आएका थिए । झापा र इलामको कार्यक्रम सकेर फर्किने क्रममा उनलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्दै बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराएकी थिइन् ।
राजदुत सोङ्गले यसअघि चिनियाँ राजदुतावासको सहयोगमा निर्मित बिर्तामोड ८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गर्नु भएको छ ।
यस्तै उहाँले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४०० जना विद्यार्थीलाई स्टेशनरीसहित व्याग वितरण गर्नुका साथै दुर्गा मावि, शुक्रराज आवि र देवकोटा आविका १०/१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृति प्रदान गर्नु भएको थियो ।
भेटघाट तथा स्वागत सम्मान कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङदेन, अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।