२०८२ जेठ २५, आइतवार , ०२:०६:२४ बजे

Sajhamanch
'

नेपालमा हरेक वर्ष थपिन्छन् २५०० भन्दा बढी ब्रेन ट्युमरका बिरामी

आइतवार, जेठ २५, २०८२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष २५०० देखि २६०० ब्रेन ट्युमरका नयाँ बिरामी थपिने गरेका छन् । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आइतबार वीर अस्पतालमा आयोजित कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।

नेपालमा ब्रेन ट्युमर बिरामीबारे पहिलो पटक तथ्यांक सार्वजनिक गरिएको वीर अस्पताल न्यूरो सर्जन विभाग प्रमुख प्रा.डा. राजीव झाले जानकारी दिए ।

डा.झाका अनुसार वीर अस्पतालअन्तर्गतको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको नेतृत्वमा ब्रेन ट्युमर बिरामीबारे अध्ययन गरिएको हो । यो एक ऐतिहासिक कदम भएको उनले बताए ।

देशभरका २० भन्दा बढी न्यूरोसर्जिकल केन्द्रबाट १ हजार ७३९ ब्रेन ट्युमरका बिरामीको तथ्यांक संकलन र विश्लेषण गरिएको छ । यो तथ्यांकका आधारमा हरेक वर्ष २५ नेपालमा २५०० देखि २६०० नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने निष्कर्ष निकालिएको झा।ले जानकारी दिए ।

डा।झाका अनुसार यो तथ्यांकलाई २ करोड २० लाख जनसंख्याको अनुपातमा विश्वेषण गर्दा करिब १ लाख जनसंख्या बराबर करिब १२ जना ब्रेन ट्युमरका बिरामी रहेको देखाउँछ । नेपालमा ब्रेन ट्युमर हुने पुरुष र महिलाको अनुपात समान देखिएको छ ।

त्यस्तै, ब्रेन ट्युमर सबैभन्दा बढी ४० देखि ५० वर्ष उमेर समूहमा रहेको पाइएको छ ।

तथ्याङ्क विशलेषण गर्दै प्रा. डा. झाले भने, ‘मस्तिष्क ट्युमरका प्रमुख लक्षणहरूमा ५८ प्रतिशत बिरामीमा टाउको दुख्ने, ३६ प्रतिशतमा बान्ता हुने, साथै बेहोस हुने, पक्षाघात र टाउको घुम्ने जस्ता समस्या देखिएका छन् ।’

बागमती र मधेश प्रदेशमा सबैभन्दा धेरै बिरामी पहिचान भएका छन । ट्युमरको प्रकारमा सबै भन्दा धेरै ग्लायोमा ३९ प्रतिशत देखिएको छ । जसमा ५६ प्रतिशत उच्च–ग्रेड ग्लायोमा देखिएको छ ।

यस अवस्थामा शल्यक्रिया, विकिरण, किमोथेरापी जस्ता बहुआयामिक उपचार आवश्यक पर्छ । यो अवस्थामा उपचारका परिणाम कमजोर हुने अध्ययनले देखाएको छ ।

अध्ययनका क्रममा मेनिन्जियोमा २१ प्रतिशत र पिट्युटरी ट्युमर ८ प्रतिशत देखिएको छ ।

विशेषज्ञ न्यूरोसर्जनहरूको संख्या, न्यूरो केन्द्रहरूको विस्तार र प्रविधिको विकासले उपचार परिणाम सुधारोन्मुख रहेको डा.झाले बताए । ‘यो तथ्याङ्कले मस्तिष्क ट्युमरको रोकथाम र उपचारमा नयाँ दिशा प्रदान गर्नेछ’ डा। झाले भने ।

यो तथ्यांकले ब्रेन ट्युमर सम्बन्धी नयाँ अध्ययन, नीति निर्माण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास डा.झाको छ ।

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा तथ्यांक सार्वजनिक गर्नुका साथै, सचेतनामुलक र्‍याली आयोजना गरिएको थियो । न्यूरो सेवामा भएको प्रगति विवरणको प्रस्तुति र केही सेवा निःशुल्क गरेको जानकारीसमेत गराएको छ ।