२०८२ जेठ २४, शनिवार , ०८:४४:५५ बजे

Sajhamanch
'

भद्रपुरको जीपी भवनका लागि तीन करोड विनियोजन, स्थानीयमा खुसीयाली

शनिवार, जेठ २४, २०८२

भद्रपुर । झापा सदरमुकाम चन्द्रगढीस्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन)का लागि सहरी विकास मन्त्रालय मार्फत.तीन करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेका अनुसार जीपी भवन निर्माणका लागि सहरी विकास मन्त्रालय मार्फत.नयाँ आर्थिक वर्षका लागि तीन करोड रुपैयाँ छुट्टिएको हो ।

नगरप्रमुख पोखरेलले अब जीपी सभागृहको अधुरो निर्माण कार्य पूरा हुने बताउँदै सरकारले बजेट बिनियोजन गरेको पुष्टि गरेका हुन् । पोखरेल नगरप्रमुख भएपछि पटक पटक संघीय सरकारसित अलपत्र सो भवन निर्माणको वातावरण बनाउन माग राख्दै ध्यानाकर्षण पत्र, मागपत्र र ज्ञापनपत्र बुझाएका थिए ।

१० वर्ष अघि २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, अहिलेका प्रधामन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले उक्त सभागृहको सामुहिक शिलान्यास गरेका थिए ।

करिब ७ वर्षयता निर्माण रोकिएर अलपत्र बनेको सो भवनका लागि स्थानीयस्तरमा सर्वपक्षीय दवाव रहेको भए पनि सरकारी पक्षले निर्माणमा रहेको समस्या हल नगर्दा अलपत्र परेको थियो ।

सभागृह बन्ने हल्ला आएपछि स्थानीयमा सदरमुकाम क्षेत्रमा चहलपहल बढ्ने भन्दै खुशीयाली छाएको छ । काँग्रेस र एमालेका कार्यकर्ताले सभागृह निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौला, पूर्व सांसद् बसन्त बानियाँ, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल लगायतले पहल गरेको सामाजिक सञ्जालमा व्यापक चर्चा गरिरहेका छन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा जीपी सभागृह निर्माणका लागि उक्त बजेट विनियोजन भएपछि अधुरो सभागृह बन्ने निश्चित भएको नगरप्रमुख गणेश पोखरेलले बताए ।

वि.सं. २०७२ असार ९ गते प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजारको लागतमा सो भवन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर गरेको थियो । कम्पनीले वि. सं. २०७४ भदौ ३१ गते भवन सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । १९ कठ्ठा जमिनमा बन्न सुरु भएको भवनको करिब ६५ प्रतिशत काम भइसकेको नगरप्रमुख पोखरेलको भनाई छ ।

सम्बन्धित खबर