
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक जारी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बसेको हो ।
कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।
कांग्रेसका अर्का नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने कुनै एक कार्यालयको कर्मचारीको गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी गरेका छन् ।
एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायतका विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमाले नेताहरु बताउँछन् ।