२०८२ जेठ १०, शनिवार , ०९:४४:३७ बजे

Sajhamanch
'

बाह्रदशी जेसीजद्वारा १७ विद्यार्थीको अभिभावकत्व ग्रहण

शनिवार, जेठ १०, २०८२

बाह्रदशी । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।

अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्रीसमेत प्रदान गरेको हो । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमका बीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार ५०० रुपैयाँ बराबरको स्कूल व्यागसहितका स्टेशनरी सामग्री प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँसहित स्टेशनरी सामग्री प्रदान गरे ।

बाह्रदशी जेसीजले सन् २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । अभिभावकत्व ग्रहण गरिएका बालबालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्मेवारी लिइने बताइएको छ ।

जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् ।

त्यस्तै बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलबारी माविका विद्यार्थी पद्मा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् । एक सदस्य एक अभिभावक भन्ने नारा लिएको जेसीजले शुरु गरेको कार्यक्रम अन्तरगत जेसीजका संस्थापक अध्यक्ष विगम श्रेष्ठले डिकप्रसाद आचार्य, पूर्व अध्यक्ष पुष्पलाल धमलाले सुहानी खातुन, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सविता माझी र निर्वतमान अध्यक्ष खगेन्द्र सुवेदीले आशिका खवासको अभिभावकत्व ग्रहण गरेका हुन् ।

बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाईले बाह्रदशी जेसीजले उत्कृष्ट र रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले बालबालिकाको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खेर जान नदिन समय समयमा अनुगमन गर्न सुझाव दिए ।