
संयुक्त अरब इमिरेट्स (यूएई) मा अत्यधिक गर्मीसँगै कीर्तिमान कायम भएको छ । हिजो यूएईमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा उच्च रहेको त्यहाँको राष्ट्रिय मौसम केन्द्र (एनसीएम) लाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा दिउँसो साढे दुई बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले जानकारी दिएको छ ।
यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि शुरू गरिएको रेकर्डमा पहिलो पटक देखिएको छ ।यसअघि सन् २००९ मा मे महिनामा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै उच्च तापक्रम रहेको थियो ।यूएई विश्वकै ठूला तेल निर्यातकर्तामध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गर्दै आएको छ ।