२०८२ जेठ १०, शुक्रवार , ०२:०६:१२ बजे

Sajhamanch
'

खरायो जस्तो तेज गतिमा काम गर्न भौतिक मन्त्रीको निर्देशन

शुक्रवार, जेठ १०, २०८२

काठमाडौं । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन पूर्वाधारका योजना तथा आयोजनाहरुको निर्माण गति बढाउन निर्देशन दिएका छन् ।

सडक विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको वार्षिक एकीकृत सडक मर्मत योजनालाई सम्बोधनका क्रममा उनले चालु आर्थिक वर्षको बाँकी अवधीलाई अधिकतम उपयोग गर्न निर्देशन दिएका हुन् ।

‘यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा बढी काम गर्नुपर्ने बेला पनि यही हो’ मन्त्री दाहालले भने, ‘अब कछुवाजस्तो घस्रिएर होइन, खरायोजस्तो तेज भएर काम गर्नु होस् ।’

आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि नै रुग्ण आयोजनाहरुको समस्या समाधानमा प्राथमिकता दिएको बताउँदै मन्त्री दाहालले समस्या देखिएका आयोजनाहरुको समाधान तर्फ लाग्नसमेत निर्देशन दिएका थिए ।

अब शुरु हुने कुनै पनि आयोजनाहरु अलपत्र हुन नदिन ध्यान दिन बताउँदै मन्त्री दाहालले समस्या लुकाउने नभई सामुहिक प्रयासबाट समाधान खोज्न पनि आग्रह गरेका थिए ।

वर्षायाम शुरु हुन लागिसकेकाले क्षति भएका तथा निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिने गरी विकल्प तयार पार्न भन्दै उनले अधिकतम स्रोत साधन परिचालन गरेर भए पनि यातायात अवरुद्ध हुन नदिन निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत रुग्ण आयोजनाहरुको समस्या समाधानमा ध्यान दिन निर्देशन दिँदै योजना, आयोजनाहरु अलपत्र पार्ने क्रम रोक्न आग्रह गरे । कार्यक्रम सडक विभागका महानिर्देशक रामहरि पोखरेलको अध्यक्षतामा भएको हो ।