
काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ‘प्रकृति र दिगो विकास, समृद्धिको मूल आधार’ भन्ने नाराका साथ मनाइँदै छ ।
जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाइन्छ ।
जैविक विविधता महासन्धि १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनेको छ ।
नेपालले विश्वको कूल भूभागको शून्य दशमलव एक प्रतिशत हिस्सा ओगट्ने भए पनि जैविक विविधताको हिसाबले विश्वको झन्डै चार प्रतिशत हिस्सा ओगट्छ । जैविक विविधताको हिसाबले नेपाल विश्वमा २५औं र एशियामा ११औं स्थानमा पर्दछ ।
यहाँ ११८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् । विश्वमा पाइने कुल वनस्पति प्रजातिको तीन दशमलव दुई प्रतिशत र कुल प्राणी प्रजातिको एक दशमलव एक प्रतिशत नेपालमा पाइन्छ ।
नेपालले पनि सन् १९९२ को रियो अर्थ सम्मेलनबाट नै दिगो विकासको अवधारणालाई पनि संस्थागतरूपमा अघि सारेको छ । तर विकास र जैविक विविधता संरक्षणबीच सामञ्जस्यता छैन ।
विकासले निम्ताइरहेको प्राकृतिक विनाश र मानव समुदायमा परेको त्यसको प्रतिकूल प्रभावको मुद्दा संसारभरजस्तै नेपालमा पनि पेचिलो बन्दै गएको छ ।
हाम्रै कारणले विद्यमान जैविक विविधतामा भने ह्रास आइरहेको छ । वन्यजन्तुको चोरी शिकार तथा ओखेटोपहारको अवैध व्यापार, संरक्षित क्षेत्र तथा स्थानीय समुदायबीचको द्वन्द्व, मानिस–वन्यजन्तु द्वन्द्व, प्राकृतिक स्रोतको अत्यधिक दोहन, भौतिक पूर्वाधार निर्माणमा चरम वनफडानी, शहरीकरण तथा बस्ती विस्तार, कृषि भूमिको विस्तार, प्रदूषणलगायतले जैविक विविधतामा समस्या ल्याइरहेका छन् ।