२०८२ जेठ ७, मङ्गलवार , ०१:४४:४३ बजे

Sajhamanch
'

महामारीसम्बन्धी सम्झौता पारित गर्न डब्ल्यूएचओका प्रमुखको आग्रह

मङ्गलवार, जेठ ७, २०८२

झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले विश्वका सरकारलाई महामारीसम्बन्धी ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौता पारित गर्न आग्रह गरेका छन् ।

महानिर्देशक गेब्रेयससले कोरोना महामारीले देखाएको असमानता र समन्वयको अभावलाई आउँदा दिनमा दोहोरिन नदिन यो सम्झौता महत्त्वपूर्ण कदमका रूपमा रहेको बताए।

जेनेभामा आयोजित विश्व स्वास्थ्य सभामा सहभागी देशका प्रतिनिधिले सम्झौताको मस्यौदामाथि छलफल गरिरहेका छन् । मानव स्वास्थ्य सुरक्षाका लागि सम्झौतालाई आवश्यक ठानिएको छ ।

महामारीसम्बन्धी सम्झौताको उद्देश्य महामारीको पहिचान, रोकथाम, निगरानी तथा उपचारमा विश्वव्यापी सहकार्य र समान पहुँच सुनिश्चित गर्नु रहेका प्रमुख गेब्रेयससको भनाइ छ ।

विगतमा कोरोना महामारीका बेला गरीब देशहरूलाई खोप, परीक्षण सामग्री तथा औषधिमा उचित पहुँच नपाएको अवस्था थियो ।

यो सम्झौतामा रोग फैलाउने जीवाणु तथा भाइरसको जानकारी साझा गर्ने र त्यसबाट विकास गरिने खोप, उपचार तथा परीक्षण सामग्रीको लाभ न्यायसङ्गत रूपमा बाँडफाँट गर्ने व्यवस्था गरिएको छ ।

सम्झौता कार्यान्वयनका लागि ६० देशको अनुमोदन आवश्यक हुनेछ । केही देशहरूले राष्ट्रिय सार्वभौम सत्तामाथि सम्झौताले असर पार्ने भन्दै आपत्ति जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर