
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले पूर्वाधार विकास, कृषि र शिक्षाको विकासमा उल्लेखनीय काम गरिरहेको पाइएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा वडाका नागरिकहरुलाई लक्षित गर्दै सडकहरु कालोपत्रे र स्तरोन्नति गरेको ८ नम्बर वडा कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट १६ वटा लामा छोटा बाटोहरु स्तरोन्नति गरेको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए । वडाका अधिकांश बाटोहरुको स्तरोन्नति भएका छन् । केही बाटोहरुको काम निरन्तर चलिरहेको उनको भनाई छ ।
वडा नं. ८ मा करिब ९ किमी बाटो कालोपत्रे भएको छ । चालू वर्षमा शान्तिटोल दक्षिण १२० मिटर, शितल चौक दक्षिण ५०० मिटर, विकास चोक हुँदै मंगलबारे जाने ३५० मिटर सडक वडाले कालोपत्रेको तयारीमा रहेको छ ।
त्यस्तै सडक निर्माणका लागि झिलझिले बजार दक्षिण ढुंगेल चोकदेखि सतासी खोलासम्म २०० मिटर डे«न निर्माण गरिएको छ ।
वडाका दुईवटा बजारहरु झिलझिलेमा इन्टरलक ब्लक विच्छाइएको छ भने डुँडामारी बजारमा सडक निर्माण भइसकेको वडध्यक्ष फेउदिनले जानकरी दिए ।
वडा भित्र रहेका चार वटा सामुदायिक विद्यालय मध्ये एउटा मावि र ३ वटा आधारभूत विद्यालय छन् । वडाले ती विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक प्रिन्टर र ल्यापटप प्रदान गरेको छ ।
झिलझिले माविमा फोटोकपीसहितको प्रिन्टर र भगवति, अरुणोदय र सरस्वती आधारभूत विद्यालयमा १÷१ थान ल्यापटप प्रदान गरेकोे जनाइएको छ ।
गएको वर्ष विद्यार्थीहरुलाई आवत जावत गर्न सहज होस् भन्ने उद्देश्यले भगवति आधारभूत विद्यालय र अरुणोदय आधारभूत विद्यालयलाई सिटी सफारी प्रदान गरिएको वडाध्यक्ष फेउदिनको भनाई छ ।
वडाले स्थानीय विपन्न परिवारका महिलाहरुलाई सिलाई कटाई तालिम पनि सञ्चालन गरेको छ । जसमा १० जना महिलाले सीप सिक्ने आवसर प्राप्त गरेका छन् । सीप सिक्न चाहने महिलाहरुले दिएको निवेदनबाट छनोट गरी तालिम दिइएको वडासचिव पुष्पलाल पाण्डेले जानकारी दिए ।
त्यस्तै वडामा भएका विपन्न बेरोजगार युवाहरुलाई ड्राइभिङ्ग तालिम सञ्चालन गरेको थियो । जसमा १६ जनाले ड्राइभिङ्ग तालिम लिई १४ जनाले लाइन्सेन्स निकाल्न सफल भएको वडा सचिवको पाण्डेको भनाई छ ।
वडाका विपन्न नागरिकहरुलाई औषधि उपचारमा पहुँच पुर्याउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको वडाध्यक्ष फेउदिनले बताए ।
उनले भने, गएका वर्षहरुमा स्वास्थ्य बीमा लागू गरेर धेरै विपन्न नागरिकहरुले सहुलियतमा औषधि उपचार गराएका थियौं । चालू वर्षमा बीमा कार्यक्रम राखिएन तर हाल जनगुनासो आएकाले २०८२/०८३ को बजेटमा पुनः निःशुल्क बीमा कार्यक्रम राख्ने योजना रहेको उनको भनाई छ ।
त्यसैगरी वडाका नागरिकहरुको मृत्यु भएमा मृत्यु संस्कारमा सहयोग पुर्याउने उद्देश्यले मृत्यु संस्कार राहत कार्यक्रम अन्तर्गत ४३ जनाको मृत्यु संस्कारमा सहभागी भएको तथ्याङ्क दिएको छ । वडाले प्रत्येक मृतककको परिवारलाई राहत स्वरुप ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
यस्तै, सुत्केरी पोषण कार्यक्रम अन्तर्गत ५१ जना सुत्केरी महिलालाई सुत्केरी पोषण सामग्री प्रदान गरेको वडा कार्यालयले जनाएको छ । जसमा एक सुत्केरी महिला बराबर ५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गर्ने गरिएको छ ।
शिवसताक्षी–८ को झिलझिले बजारमा शुद्ध पिउने पानीको अभाव रहेको हुँदा बजारबासीले आइरनयुक्त पानी पिउन बाध्य छन् । वडाध्यक्ष फेउदिनले शुद्ध पिउने पानीको अभाव हुँदा समस्यामा परेको जानकारी दिए । झापाको सुगम क्षेत्र भएर पनि पिउने पानीको लागि दुर्गम जस्तो भएर यहाँका नागरिक बाँचेका छन् ।
झिलझिलेबासीले शुद्ध पिउने पानीको व्यवस्था गर्न वडा नं. ११ मा खानेपानी आयोजना निर्माणको चरणमा रहेको वडाध्यक्ष फेउदिनको भनाई छ । झिलझिले खानेपानीको हाल जमिनमुनी बोरिङ्ग भइसकेर ओभरहेड ट्यांकीको निर्माण कार्य पूरा भएको उनले बताए ।
झिलझिले खानेपानी सरसरफाई उभोक्ता समितिका अध्यक्ष गंगा तिम्सिनाका अनुसार खानेपानीको लागि अब विद्युत, जडानका लागि ट्रान्सफरमर, फिल्डर ट्यांकी, पाइपलाइन विस्तारको काम गर्न बाँकी रहेको छ ।
बजेटको अभावले खानेपानी निर्माण पूरा गर्न लामो समय लागेको अध्यक्ष तिम्सिनाको भनाई छ । प्रदेश सरकारले वर्षेनी सानो रकम पठाउने गरेकाले एकै वर्षमा आयोजनाको काम पूरा गर्न नकिएको उनको भनाई छ ।
वडाध्यक्ष फेउदिन भन्छन्, ‘आफ्नै कार्यकालमा झिलझिले बजारबासीलाई शुद्ध पिउने पानीको खुवाउने लक्ष्य लिएको छु ।’
वडाध्यक्ष फेउदिनले आफूले चुनावताका जनतालाई दिएको बचन ८० प्रतिशत पूरा गरेको दावी गरे । वडाका नागरिकले कम्तिमा गाँस, बास र कपासको व्यवस्था हुनुपर्छ भन्ने मान्याताका आधारमा काम गरेको वडाध्यक्ष फेउदिनको भनाई छ ।