२०८२ जेठ ४, शनिवार , ०८:०७:३६ बजे

Sajhamanch
'

देशमा तीव्र विकास गर्न एमालेको बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री

शनिवार, जेठ ४, २०८२

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन्।राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक भएको बताए।

“मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौँ, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ”, अध्यक्ष ओलीले भने, “म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न। एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ।”उनले मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसङ्ग उल्लेख गर्दै रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने भनाइ राखे।

कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए। त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो।

सम्बन्धित खबर