
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् ।
रोहित कक्षा १२ के परीक्षामा सहभागी भएकाले पछि जाने क्यानले जनाएको छ । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल यसअघि नै बेलायत गइसकेका छन् । नेपाली टोली आजै बेलुका प्रस्थान गर्नेछ ।
नेपाली टोलीले स्कटल्यान्डमा लिग–२ शृङ्खला खेल्नुअघि बेलायतमा अभ्यास क्याम्पमा सहभागी हुनेछ । नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने लिग–२ आउँदो जुन २ देखि १० सम्म हुनेछ ।
लिग–२ पछि यी तीन देशबीच जुन १५ देखि २० सम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ । लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ ।