२०८२ जेठ १, बुधवार , ०७:०२:५६ बजे

Sajhamanch
'

बेलायतको श्रम बजारमा मन्दी

बुधवार, जेठ १, २०८२

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्।राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो। यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केहि बढेको देखिएको छ।

फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी सङ्ख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ।

तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ। बोनस बाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतभन्दा केही कम हो। बोनससहितको कुल तलब ५.५ प्रतिशतले बढेको देखिएको छ। मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर १.८ प्रतिशत रहेको छ।अर्कोतर्फ, रोजगारको अवसर पनि घट्दै गएका छन्। हाल कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो।

आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन्। खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ।

यद्यपि श्रमिक मागमा केही गिरावट देखिएको भए पनि तलब वृद्धिदर अझै उच्च भएकाले बेलायतको केन्द्रीय बैङ्क (बैंक अफ इंग्ल्याण्ड) लाई मुद्रास्फीति नियन्त्रणमा चुनौतीको सामना गर्नुपरेको बताइएको छ।बैङ्क अफ इङ्गल्याण्डले यसै महिनाको प्रारम्भमा आफ्नो प्रमुख ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै ४.२५ प्रतिशतमा झारेको थियो। तथापि, थप ब्याजदर घटाउने विषयमा नीतिनिर्माताहरू अझै मुद्रास्फीति घटेको थप प्रमाणको प्रतीक्षामा रहेको बताएका छन्।

सम्बन्धित खबर