२०८२ चैत १० मङ्गलवार , ११:१९:१७ बजे

Sajhamanch
'

रोहितको सन्न्यासपछि भारतको टेस्ट कप्तान बन्ने दौडमा गिल सबैभन्दा अघि

बिहिवार, वैशाख २५, २०८२

झापा । रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि भारतको टेस्ट कप्तान बन्ने दौडमा शुभमन गिल सबैभन्दा अघि देखिएका छन् ।

रोहितको सन्न्याससँगै आउँदो जुन २० मा हेडिङ्ग्लेमा शुरू हुने इङ्गल्यान्डसँगको पाँच खेलको टेस्ट शृङ्खलाबाट शुरू हुने पूर्णकालीक टेस्ट कप्तानका रूपमा गिल सबैभन्दा अघि देखिएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

अस्ट्रेलिया भ्रमणमा टेस्ट टोलीका उपकप्तान रहेका र रोहितले गुमाएको दुई टेस्टमा टोलीको नेतृत्व गरेका जसप्रीत बुमराहले कार्यभार व्यवस्थापनका लागि आउँदो विश्व टेस्ट च्याम्पियनशिप चक्रमा केही टेस्ट गुमाउने सम्भावना रहेको स्पष्ट भएपछि २५ वर्षीय शुभमन गिल नयाँ कप्तान बन्न सक्ने खबरमा उल्लेख छ ।

यस महिनाको अन्त्यतिर अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिको बैठकमा इङ्गल्यान्ड भ्रमणका लागि भारतीय टोली छनोट हुने अपेक्षा गरिएको छ ।

यो शृङ्खलासँगै भारतले अर्को विश्व टेस्ट च्याम्पियनसिप चक्र शुरू गर्दै गर्दा छनोटकर्ताहरूले दीर्घकालीन दृष्टिकोणलाई ध्यानमा राखेर कप्तानमा गिललाई प्राथमिकता दिएको बुझिन्छ ।

शुभमन गिलले कहिल्यै टेस्ट वा एकदिवसीय क्रिकेटमा टोलीको नेतृत्व गरेका छैनन् तर उनले पाँच वटा टी–२० क्रिकेटमा नेतृत्व गरेका छन् ।

यस्तै भारतको नयाँ टेस्ट कप्तानमा गिलसँगै जसप्रीत बुमराह, केएल राहुल, श्रेयस अय्यर र ऋषभ पन्तको पनि चर्चा छ ।

सम्बन्धित खबर