२०८२ वैशाख २२, सोमवार , ०३:०९:०२ बजे

Sajhamanch
'

लागुऔषध कारोबारीलाई पक्राउ गर्न चप्रामारीमा प्रहरीले चलायो गोली

सोमवार, वैशाख २२, २०८२

झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न आज बिहान झापा प्रहरीले गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान पौन ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो ।

सो क्रममा बीआर ३७ टी ९१९८ उल्लेखित भारतीय नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोलासमेत छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाए पनि उनी भाग्न सफल भएका थिए ।

झापाका डीएसपी खड्काले भने दुई राउण्ड हवाई फायर गरिएको बताए । ती व्यक्ति मोटरसाइकल र झोलासमेत छाडेर भागेका थिए । उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त व्यक्तिले प्रयोग गरेको मोटरसाइकल, झोलासहित लागुऔषध नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित खबर