२०८२ वैशाख २१, आइतवार , ०८:२५:२० बजे

Sajhamanch
'

यातायात अवरुद्ध हुन नदिन मन्त्री दाहालको निर्देशन

आइतवार, वैशाख २१, २०८२

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको जनाएका छन् ।

वर्षायाम शुरु हुनै लागेकाले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध नहुने गरी काम गर्न सडक विभाग तथा आयोजनाहरुलाई मन्त्री दाहालको निर्देशन छ ।

आइतबार काठमाडौको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठवन्धनमा रहेका दलहरु बीचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको दावी पनि गरेका छन् ।

स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए । त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरु विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ती सबै निकायहरु बीच समन्वय गरी जनअपेक्षा पूरा गरिने पनि आश्वासन दिए ।


अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरुको विकासले नागरिकको जीवनस्तरमा पनि परिवर्तन ल्याइरहेको उनको भनाई थियो ।

सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्यजस्ता सेवा लिन सहज हुनका साथै ग्रामीण क्षेत्रमा स्वरोजगारी र उद्यमशिलताको विकास भइरहेको मन्त्री दाहालले बताए ।

सडक निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौका प्रमुख नारायणदत्त भण्डारी, ईन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरु सहभागी थिए ।