
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभाव रहेको र यसका लागि अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थप गर्ने प्रस्ताव स्वीकृत भएको हो । मन्त्री पौडेलले बीमा बोर्डका लागि अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए। बोर्डमा जनशक्ति अभावले गएको साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थप हुने अस्थायी जनशक्तिले चालू आर्थिक वर्षभित्र बाँकी दाबीमा मूल्याङ्कन कार्य सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ तथा डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ । अब ती अस्पतालले भोग्दै आएका समस्या समाधानमा सहजता ल्याउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए।