
मेचीनगर । मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल चलाएको छ ।
नगरपालिकाले रणनीतिक कार्य योजना निर्माणका लागि पहिलो चरणको लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग शुक्रबार र शनिबार कार्यशाला गरेको हो ।
मुलुककै पूर्वी नाका खुल्ला बोर्डर भएका कारण लागूऔषधको मुख्य कारोबार गर्ने ठाउँको रुपमा काँकरभिट्टा चिनिने गर्छ । मेचीनगरका धेरै युवायुवती लागूऔषधमा फसेको बताइन्छ ।
स्कुल र कलेज पढ्ने विद्यार्थी, यातायात व्यवसायी, मजदुर, कर्मचारी लगायत ठूला घरानाका धेरै युवा लागूऔषधको सेवन गर्ने, कारोबार गर्ने र बिक्री वितरणमा लागेको अनुसन्धानकर्ताको निश्कर्ष छ ।
यसैको रोकथामका लागि नगरपालिकाले आगामी ३ वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, लागूऔषध व्युरो, महिला सञ्जाल, शिक्षक, लागूऔषध न्यूनीकरण सम्बन्धी काम गर्ने संघ–संस्था, यातायात व्यवसायी लगायतसँग पहिलो चरणको कार्यशाला गरिएको हो ।
सामुदायिक विकास मञ्च मेचीनगर ६ ले सहजीकरण गरेको कार्यशालामा करिव ४० जना सरोकारवालाहरुको सहभागिता थियो । सहभागीलाई रणनीतिक कार्य योजना निर्माणका विषयमा विषय विज्ञ लोकप्रिय खनालले सहजकर्ताको भूमिका निभाएका थिए ।
कार्यशालामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न तीन वर्षे रणनीतिक कार्य योजना निर्माणका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
उनले लागूऔषधमा फसेका युवा, त्यसमा भर्खर लाग्दै गरेका र अब त्यसमा लाग्न नदिन प्रत्यक घरका आमाहरुलाई सचेत गराउन आवश्यक रहेको बताए ।
नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख शम्भुप्रसाद पौडेलको अध्यक्षतामा आयोजित दुई दिने कार्यशालाको सहजीकरण सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाल, सदस्य गोविन्द न्यौपाने लगायतले गरेका हुन् ।