
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीको उपचारमा संलग्न सबै सरकारी डाक्टरलाई कागजपत्रमा आफ्नो पूर्ण विवरण खुलाउन निर्देशन दिएको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकतानुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिश गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउन भनेको हो ।
यो निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। साथै यसबाट अनावश्यक परीक्षण तथा परीक्षण सम्भव हुँदाहुँदै गरिने रेफरलाई समेत रोक्ने उनको भनाइ छ ।
पेस्क्रिप्सनमा पूर्णता नहुँदा बिरामीको उपचार तथा त्यसका क्रममा भएका खराबी पहिचानमा समेत समस्या पर्ने गरेको गुनासो आउने गरेको मन्त्रालयले जनाएको छ ।