
काठमाडौं । आउँदो जेठ २ देखि ४ गतेसम्म अर्थात् (मे १६ देखि १८ तारिखसम्म) हुने ‘सगरमाथा संवाद’ सम्मेलनको तयारी तीव्र भएको छ ।
हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू विश्व समुदायलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ गर्न लागेको हो । सगरमाथा संवादका लागि तीन सयभन्दा धेरै विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको सरकारले जनाएको छ ।
जलवायु परिवर्तन, हिमाल र मानव भविष्य विषयमा केन्द्रित रहने संवादले विश्वका नेता, नीति निर्माता र वातावरणविद्हरूका बीचमा बहस गराउने सरकारको तयारी छ ।
संवादमा जलवायु विज्ञसँगै पीडितहरूको समेत सहभागिता गराउने गरी तीव्र तयारी भइरहेको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर क्षेत्रीले बताए।
सहसचिव क्षेत्रीका अनुसार जलवायु परिवर्तनले पुर्याएको हानि नोक्सानीको लेखाजोखा र हिमालको संरक्षणका सवालमा विभिन्न १२ वटा सत्रमा बहस हुनेछ ।
पछिल्लो समय स्थापना भएको हानि नोक्सानी कोषको प्रभावकारी परिचालन, पर्वतीय क्षेत्रमा परेको जलवायु प्रभावका कारण मानव जीवनमा आएको सङ्कट, पर्यटन, कृषि, ऊर्जालगायतका विषयमा सगरमाथा संवादमा गम्भीर बहस गरिने छ ।
हिउँ पग्लेर जलस्रोतमा कमी, भूक्षय, जैविक विविधता विनाश र स्थानीय समुदायहरूको जीवनस्तरमा असरजस्ता गम्भीर समस्याहरू नेपालले सामना गरिरहेको छ ।
सगरमाथा संवादले जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी मञ्चको रूपमा कार्य गर्ने अपेक्षा सरकारको छ ।
यसले हिमाल, महासागर र यसका पारिस्थितिकीय प्रणालीबीचको परस्पर सम्बन्धलाई जोड दिँदै जलवायु परिवर्तनको सामना गर्न सामूहिक प्रयासको खाँचो औँल्याउने लक्ष्य राखेको छ ।