२०८२ वैशाख १६, मङ्गलवार , ०१:४२:२४ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा राजस्थानले गुजरातलाई ८ विकेटले हरायो : १४ वर्षीय खेलाडी वैभवको शतक

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ ।

गएराति भएको खेलमा गुजरातले जीतका लागि दिएको दुई सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा एक सय एक रन बनाए । उनले ३५ बलमा शतक पुरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

अर्का ओपनर यशस्वी जैसवालले अविजित ७० रन जोडे । कप्तान रियान पराग ३२ रनमा अविजित रहे । गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय ९ रन बनाएको थियो । उसका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए । जोस बटलर ५० रनमा अविजित रहे ।

राजस्थानका महिश थिक्सानाले दुई तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एकरएक विकेट लिए । जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।

दिल्ली ९ खेलमा १२ अङ्कका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अङ्कसहित सातौं स्थानमा छ ।

सम्बन्धित खबर