
काठमडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ।
एन्फाले ‘ए’ डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो ।
एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो । तर १४ वटा ‘ए’ डिभिजन क्लबमध्ये चार टिमले मात्र नाम दर्ता गराएपछि प्रतियोगिता आयोजना गर्न नसकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
टिम दर्ता गर्ने समय अस्ति बुधवारसम्म तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित सङ्कटा क्लबले मात्र नाम दर्ता गराएका थिए ।
लिगकम नकआउट प्रतियोगिता नहुने भएपछि अब एएफसी क्लब च्याम्पियनशिपमा नेपाली क्लबको सहभागिता पनि नहुने भएको छ ।