२०८२ वैशाख ११, बिहिवार , ०५:४०:०५ बजे

Sajhamanch
'

जलविद्युत् आयोजनाले पानी नछाड्दा नदी र खोला सुक्दै

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । जलविद्युत् आयोजनाहरूले नियमानुसार पानी नछाड्दा खोला तथा नदी सुकेपछि समस्या बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

आयोजनाहरूले संरक्षण क्षेत्रमा कम्तीमा २० प्रतिशत र अन्यत्र कम्तीमा १० प्रतिशत पानी नदी प्रवाहमै छाड्नुपर्ने नियम भए पनि हिउँदमा खोला पुरै सुकाइदिने गरेका स्थानीय बासिन्दाको गुनासो छ ।

सोलुखुम्बुको भकाञ्जेका सन्तमान थामी जलविद्युत आयोजनाले लिखुखोला पूरै सुकाइदिँदा गाईवस्तुले पानी खानसमेत नपाएका बताउछन्। यस्तै पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती पनि जलविद्युत् आयोजनाले हेवाखोला सुकाइदिँदा घाटमा शव जलाउनसमेत नपाएको गुनासो गरे।

यसैगरी कास्कीको मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङ पनि जलविद्युत् आयोजनाले मादी नदी पूरै सुकाउँदा जनावरले खाने पानीसमेत बाँकी नरहेको बताउछन् ।

सुक्खा बढेसँगै सबैजसो जलविद्युत् आयोजनाहरूले खोला पूरै सुकाएर सुरुङ वा पाइपमा पानी पठाएका छन् । सदियौंदेखि बगिरहेको ठाउँमा खोला सुक्दा त्यहाँको जैविक विविधतामा असर गर्न थालेको छ ।

यस्तै सिँचाइ, खानेपानीलगायतका समस्यासँगै धार्मिक तथा सांस्कृतिक समस्या पनि देखिन थालेका छन् । खोला सुक्दा माछालगायत प्रजाति पूरै मासिएका छन् । शव जलाउनेलगायत सांस्कृतिक काममा पनि असर पुगेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डाक्टर मुकेशराज काफ्ले जलविद्युत‍्को विकाससँगै प्रकृति र मानवीय मूल्य मान्यतामा परेको असर चिन्ताजनक रहेको बताउछन्।

वातावरण अनुकूल विकासको पर्याय मानिएको नवीकरणीय ऊर्जाको प्रमुख स्रोत जलविद्युत् आयोजनाका कारण परेको प्रभावबारे बहस आवश्यक रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर