
काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनदेखि तापक्रम बढेको छ । तापक्रम बढेपछि सरकारले आज र भोलि सचेत हुन आग्रह गरेको छ ।लुम्बिनी प्रदेशका तराईका भूभागमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा माथि मापन गरिएको छ ।
मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका स्थानमा ३८ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज र भोलि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना देखिएको विभागले जनाएको छ ।लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो हावाको लहर चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“आज पनि लुम्बिनीसहित तराईका केही स्थानमा हिजोको भन्दा केही बढी तापक्रम हुने पूर्वानुमान रहेको छ,” मौसमविद् रोजन लामिछानेले भने, “आज अधिक गर्मी हुने ठाउँमा ३९ देखि ४१ डिग्री सेन्टिग्रेडसम्म तापक्रम पुग्ने पूर्वानुमान गरेका छौँ ।”आज धेरै स्थानमा तापक्रम ४० डिग्री सेन्टिग्रेड पुग्ने पूर्वानुमान रहेको उनले बताए ।
हिजो सबैभन्दा धेरै तापक्रम भैरहवामा ४०.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । आज शो भन्दा बढी हुने सम्भावना रहेको छ ।“हिजो ३९ डिग्री सेन्टिग्रेडभन्दा माथि त धेरै ठाउँमा थियो । धनगढीमा ३९.९ डिग्री सेन्टिग्रेड थियो । सिमराको तापक्रम पनि उच्च थियो,” मौसमविद् लामिछानेले भने ।कम्तीमा अझै तीन तापक्रम घट्ने मौसमी प्रणाली छैन । “कम्तीमा तीन दिन नयाँ मौसमी प्रणाली विकास भएर तापक्रम घट्ने सम्भावना छैन,” उनले भने ।