२०८२ वैशाख ६, शनिवार , १२:४९:०२ बजे

Sajhamanch
'

यू–१९ क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो

बुधवार, चैत २७, २०८१

काठमाडौं । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई हराएको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस मेथडका आधारमा ८५ रनले हरायो ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । वर्षाका कारण खेल शुरू हुने नसकेपछि नेपाल डीएलएस मेथडमा विजयी भएको हो ।

अफगानिस्तानका फैसल शिनोजादाले १६, अजिजुल्लाह मिया खिलले नटआउट १५ रन बनाए । नेपालका अपराजित पौडेलले २ तथा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १९१ रन बनाउँदा अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाए । अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिए ।

युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो ।

आउँदो आइतवारदेखि घरेलु मैदानमा हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।

सम्बन्धित खबर