
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् ।
यातायात व्यवसायी तथा मजदुरहरुसँग आज सोमबार मन्त्रालयमा भएको छलफलमा उनले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् ।
यसैगरी निर्माण स्थलहरुमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने मन्त्री दाहालको भनाई छ ।
काठमाडौ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी गराए ।
सो छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरी लगायतका निकाय तथा संघीय सरकारहरुसँग थप समन्वय गरिने बताए ।
दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारी साधन तथा यात्रुहरुलाई परेको समस्याप्रति मन्त्रालय गम्भिर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको सचिव शर्माले बताए ।
सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा यातायात व्यवसायी महासंघका अध्यक्ष बिजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशकहरु तथा विभिन्न मजदुर संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।