
अर्जुनधारा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेस विचारले बनेको पार्टी भएकाले विधि, विधान विपरित गतिविधि गर्नेहरु वैचारिक र राजनीतिक रुपमा समाप्त भएर जाने बताएका छन् ।
पार्टीको एक महिने संगठन सुदृढीकरण अभियान अन्तरगत आज अर्जुनधारा नगर समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका थापाले कांग्रेस नेता कार्यकर्ताले विरोधको भाषामात्र होइन रचनात्मक सुझाव र संगठन बलियो बनाउने कार्यमा क्रियाशील रहनुपर्नेमा जोड दिए ।
सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण प्रचार र बजार हल्लाका पछि नलागी पार्टी नीति, सिद्धान्त र विचार अनुसार अघि बढ्न आग्रह गर्दै नेता थापाले मुहान धमिलो भएको आरोप लगाएर कुलो भत्काउने कार्यमा लाग्न नहुने सुझाव दिए ।
लोकतन्त्रमा गलत गर्नेहरु माथि कानुनी कारबाही हुने भएकाले पार्टीका कोही ब्यक्ति गलत हुने वित्तिकै समग्र पार्टी गलत नहुने उनले धारणा खेका थिए ।
पार्टीको नीति, सिद्धान्त र विचार विपरित गतिविधि गर्ने र आर्थिक अनुशासन पालना नगर्नेलाई १५औं महाधिवेशनमा कार्यकर्ताले उचित ब्यवस्थापन गर्ने भनाई राख्दै सभापति थापाले हजारौं योद्धा र शहीदहरुको बलीदानबाट प्राप्त लोकतन्त्र, संविधान र पार्टी जोगाउन अझै पनि लाखौं कार्यकर्ता तयार रहेको भनाई खेका थिए ।
कार्यक्रममा एक महिने अभियान अन्तरगत झापा क्षेत्र नं २ का लागि जिल्ला प्रतिनिधि एवं नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराइले महाधिवेशनले दिएको म्याण्डेट विपरित बोल्ने अधिकार कसैलाई नभएको बताउँदै पार्टीको नीति र सिद्धान्त विपरित टिकाटिप्पणी गर्ने नेताहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
संविधानले किनारा लगाइसकेको राजतन्त्र फर्कने सम्भावना नै नभएको बताउँदै उपसभापति भट्टराइले पार्टी चलायमान बनाउन टोल, वडा समितिदेखि सबै तहगत संगठन चलायमान हुनुपर्ने सुझाए ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीको फोरम र जनमानसमा के बोल्ने र के नबोल्ने भन्ने विषय बुझ्न जरुरी रहेको बताउँदै विपीले ल्याएको प्रजातान्त्रिक समाजवादी नीतिको पूर्ण अंगिकार गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेलको सभापतित्वमा कार्यक्रमको औचित्य माथि सभापति खरेलले नै प्रकाश पारेका थिए ।