
काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप–२०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि आज बिहान ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिना विश्व कपका लागि छनोट भयो ।
त्यस्तै आज भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । घरेलु मैदानमा अर्जेन्टिनाका जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । ब्राजिलका लागि म्याथुस चुन्हाले एक गोल फर्काए । दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ ।
शीर्ष स्थानको अर्जेन्टिनाको १४ खेलमा ३१ अङ्क छ । ब्राजिलको १४ खेलमा २१ अङ्क छ । ब्राजिल चौथो स्थानमा छ । १० टोली रहेको दक्षिण अमेरिकी छनोटबाट शीर्ष छ वटा देश विश्वकपका लागि छनोट हुनेछन् ।
सातौं टोलीले प्ले अफको मौका पाउनेछ । छनोटका अन्य खेलमा भेनेजुएलाले पेरुलाई एक गोलले हराउँदा कोलम्बिया र पाराग्वेले दुई/दुई, चिली र इक्वेडर तथा बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन् ।