
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान-प्रदानसम्बन्धी सम्झौता गरेको छ ।
आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको उपस्थितिमा आइतबार सम्झौता भएको हो ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ । तिलगंगाले उत्पादनको १० प्रतिशत लेन्स निस्शुल्क उपलब्ध गराउने छ । जस अनुसार एक लाख उत्पादन भए १० हजार लेन्स निःशुल्क उपलब्ध हुनेछ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि कर छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात भइरहेको छ । अहिलेको सम्झौताअनुसार तिलगंगाले ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा हालको रकममा छुट प्रदान गर्नेछ ।
यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ ।
तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।
यसैगरी, कार्यक्रम सञ्चालन भइरहेका जिल्लामा आँखा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने सम्भौतामा उल्लेख छ ।
मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पश्चात प्रयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धि करमा सहुलियतका लागि सिफारिस दिने सम्झौता गरेको छ ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यत्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।
सम्झौता आदान-प्रदानपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डा.सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको बताए ।
अन्तर्राष्ट्रिस्तरमा ख्याती प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांकन गर्दै थप सहयोग पुर्याउनुपर्छ भनेर सम्झौता गरिएको उनले जानकारी दिए ।
‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ, ‘मन्त्री पौडेलले भने, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ । आगामी दिनमा पनि हामी सघाउन तयार छौं।’
डा. रुइतले स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य सेवा सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।
‘स्वास्थ्य मन्त्रीज्यू सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उनले भने, ‘हामी हातेमालो गर्न तयार छौं ।’
डा. रुइतले अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धाका लागि सघाउन आफूहरूलाई सघाउन मन्त्री पौडेलसमक्ष आग्रह गरे ।