२०८१ चैत ३, आइतवार , ०३:१२:५४ बजे

Sajhamanch
'

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

आइतवार, चैत ३, २०८१

धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य राना, घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण चौधरी, २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवल उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश कार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

उनका अनुसार रानालाई धनगढी उपमहानगरपालिका–३ को त्रिनगर ब्यारेल नजिकै भारतबाट धनगढीतर्फ आइरहेका बेला उनी सवार सुपप्र०१०१२ प ५४७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

अन्य चार जनालाई भने घोडाघोडी नगरपालिका–७ को हरिनगरस्थित सोही ठाउँका लक्ष्मण चौधरीको घरमा लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

चौधरीको घर कोठामा खानतलासी गर्दा सुटकेसभित्र राखिएको कोटको गोजीबाट १५ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको थियो । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर